बैंकिङ क्षेत्र बलियो भए ठूला वित्तीय संकटको प्रतिरक्षा गर्न सकिन्छ : गभर्नर दास(आरबीआई)

मुलुकमा बैंकिङ क्षेत्र बलियो भए ठूला वित्तीय संकटबाट पार पाउन सकिने भारतीय केन्द्रीय बैंक (आरबीआई)का शक्तिकान्त दासले बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपालका प्रथम गभर्नर हिमालयन शम्शेर जबराको स्मृतिमा आयोजित कार्यक्रममा भारतीय गभर्नर दासले पछिल्ला वर्षहरुमा केन्द्रीय बैंकहरु बलिया भएकै कारण विश्वव्यापी आर्थिक संकटहरुको प्रतिरक्षा गर्न सकेको बताएका हुन् ।कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै दासले कोभिड १९ ले शिथिल बनाएको विश्व अर्थतन्त्रमात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय संकटलगायत आर्थिक संकटको सजिलै प्रतिरक्षा गर्न सफल भएको बताए । ‘मुलुकको समष्टि आर्थिक र वित्तीय स्थिरताका लागि केन्द्रीय बैंकहरू परम्परागत रूपमा संरक्षकको रूपमा काम गर्दै आएका छन्,’ उनले भने, ‘अब २१ औं शताब्दीमा आउने संकटहरु सामना गर्न केन्द्रीय बैंकहरू तयार रहनुपर्छ ।’

समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले केन्द्रीय बैंकहरुले त्यसतर्फ पनि काम गर्नुपर्ने गभर्नर दासको भनाइ थियो । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनले विभिन्न चुनौती ल्याइरहेकाले ती सामनाका लागि सरकारका अन्य निकायहरुसँग प्रभावकारी सहयोग गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्र बैंकले पहिलो पटक गरेको स्मृति कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको विशेष निमन्त्रणामा दास नेपाल आएका थिए ।