काठमाडौँ । देशभित्र विश्वविद्यालय र शैक्षिक संस्था संचालनमा रहे पनि ठूलो मात्रामा धनराशी शिक्षाका लागि विदेशिने क्रम रोकिएको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार उच्च शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष यो रकम १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि उच्च दरमा बढेको छ । समीक्षा वर्षमा भ्रमण व्यय १८.१ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो खर्च १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ थियो ।
उता, खुद सेवा आय घाटा झन् बढेको देखिन्छ । आव २०८१/८२ मा ९० अर्ब ९४ करोड रुपैयाँ घाटा भएको छ, जुन अघिल्लो वर्षको ५५ अर्ब ८६ करोड घाटाभन्दा उच्च हो । यसैबीच सेवा खाताअन्तर्गत भ्रमण आय ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ मात्र थियो ।