साहस उर्जा लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । साहस उर्जा लिमिटेडको १२औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। बबरमहल, काठमाडौंमा आयोजित उक्त साधारणसभा कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकको सभापतित्वमा सम्पन्न भएको हो।

साधारणसभामा अध्यक्ष पाठकले सञ्चालक समितिको तर्फबाट कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धी प्रस्तावसमेत पारित गरिएको छ।

साधारणसभाले शेयरधनीहरूलाई लाभांश वितरणसम्बन्धी महत्वपूर्ण निर्णयसमेत गरेको छ। सभाबाट १.१०५३ प्रतिशतका दरले हुने रकम रु. ४,१७,७८,९४७.३७ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। साथै, हालको चुक्ता पूँजी रु. ३,७८,००,००,००० को २१ प्रतिशतका दरले हुने रु. ७९,३८,००,००० बराबरको ७९,३८,००० कित्ता बोनस शेयर वितरण गर्ने निर्णय गरिएको छ।

बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी रु. ४,५७,३८,००,००० कायम हुने र सोही पूँजीको १ः१ अनुपातमा ४,५७,३८,००० कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको कम्पनीले जनाएको छ।

हाल कम्पनीको अधिकृत पूँजी रु. १० अर्ब रहेको छ भने जारी पूँजी रु. ७ अर्ब ५६ करोड र चुक्ता पूँजी रु. ३ अर्ब ७८ करोड रहेको छ। कम्पनीको शेयर संरचनाअनुसार ७० प्रतिशत संस्थापक शेयरधनी र ३० प्रतिशत सर्वसाधारण शेयरधनी रहेका छन्। हाल कम्पनीमा ८,१५६ जना संस्थापक शेयरधनीहरूको लगानी रहेको छ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म विद्युत् बिक्रीबाट कम्पनीले रु. १ अर्ब २० करोड २४ लाख २४ हजार ७२४ आम्दानी गरेको जानकारी साधारणसभामा गराइएको थियो।

यस अवसरमा शेयरधनीहरूले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासाहरूको अध्यक्ष पाठक तथा कम्पनीका अन्य पदाधिकारीहरूले स्पष्ट जवाफ दिएका थिए। विविध कार्यक्रमका साथ सम्पन्न उक्त साधारणसभाले आगामी दिनमा कम्पनीको व्यवसायिक विस्तार तथा लगानीकर्ताको हित संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेको छ।