काठमाडौँ। नेपालमा करदाताको संख्या ७० लाख नजिक पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार असार मसान्तसम्म देशभर कुल ६९ लाख ९९ हजार ३५० करदाता दर्ता भएका छन्।
जसमध्ये २० लाख ६० हजार ७५८ व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) लिने करदाता छन् भने ४९ लाख २ हजार ७२२ व्यक्तिगत करदाता रहेका छन्। त्यस्तै, कर कट्टी गर्ने निकायका लागि प्रयोग हुने डब्लु–प्यान लिनेको संख्या ३५ हजार ८७० पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ हजार ५४२ ले बढी हो।
व्यक्तिगत करदाताको संख्या एक वर्षमै ६ लाख ५४ हजार १८ ले बढेको छ। अघिल्लो वर्ष ४२ लाख ४८ हजार ७०४ व्यक्तिगत करदाता रहेका थिए। त्यस्तै, व्यवसायिक करदाता पनि २ लाख ८ हजार ४३० ले बढेर हाल २० लाख ६० हजार पुगेका छन्। हालसम्म भ्याटमा दर्ता भएका करदाता ३ लाख ५१ हजार पुगेका छन् भने अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख २५ हजार पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल १२ खर्ब ८४ अर्ब रुपैयाँ कर राजस्व संकलन गरेको छ। यसमा भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ९४ अर्ब र शिक्षा सेवा शुल्कबाट ४ अर्ब रुपैयाँ संकलन भएको छ। गत वर्ष सरकारको कुल राजस्व संकलन १४ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ गैरकर राजस्वबाट आएको थियो। करदाताको संख्या र कर राजस्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजस्व प्रणाली बलियो हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ।