नेपालमा सवा १७ खर्ब रेमिट्यान्स भित्रियो, एकै वर्षमा १९ प्रतिशत वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा सवा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार एकै वर्षमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष नेपालले १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने त्योभन्दा अघिल्लो वर्ष १२ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ आएको थियो ।

तथ्याङ्कअनुसार मासिक औसत १ खर्ब ४३ अर्ब ६० लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत असार महिनामात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण आएको देखिएको छ । यसैगरी अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि १६.३ प्रतिशतले बढ्दै १२ अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर १४.५ प्रतिशत रहेको थियो ।