काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै २४ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउन महिनामा मात्रै १ सय २७ उद्योग दर्ता भएका छन्, जसले करिब ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन् ।
दर्ता भएका उद्योगमध्ये ८१ अटोमेटिक रुट र ४६ अप्रुभल रुटबाट दर्ता भएका हुन् । अटोमेटिक रुटमार्फत साना उद्योगमा केन्द्रित ७३ करोड ३० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ भने अप्रुभल रुटमार्फत २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
साउनमा दर्ता भएका १२५ साना र २ ठूला उद्योगमध्ये कृषिक्षेत्रमा सबैभन्दा ठूलो लगानी प्रतिबद्धता आएको छ । विशेषगरी चीनबाट आएको २० अर्ब बराबरको लगानी भैंसी मासु प्रशोधन उद्योगमा स्वीकृत भएको छ, जसका कारण एफडीआई उच्च भएको देखिएको छ ।
उद्योग विभागका अनुसार कृषिबाहेक पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन र ऊर्जामा पनि लगानी प्रतिबद्धता आएको छ । संख्यात्मक हिसाबले ७१ उद्योग सूचना प्रविधिमा र ४१ उद्योग पर्यटन क्षेत्रमा दर्ता भएका छन् ।
यससँगै नेपालमा हालसम्म स्वीकृत कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने कुल दर्ता उद्योग संख्या ७ हजार ३ सय ६६ पुगेको विभागले जनाएको छ ।