काठमाडौं । चाडपर्व लक्षित गरेर नेपालमा वस्तु आयात उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँका सामान आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ४३ अर्ब रुपैयाँ बढी हो। यो वृद्धि १६.२३ प्रतिशत रहेको छ। यस अवधिमा पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात हुने वस्तु रह्यो भने खाने तेल, स्टिल तथा फलामजन्य वस्तु प्रमुख आयात सूचीमा परे। आयातसँगै राजस्व संकलन पनि बढेर दुई महिनामा ७७ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
निर्यात पनि यो वर्ष उच्च दरमा वृद्धि भएको छ। दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँका सामान निर्यात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँले बढी हो। निर्यात हुने प्रमुख वस्तुमा वनस्पति घिउ, सोयाबिन तेल, सूर्यमुखी तेल, पाम तेल, फाइबर, कफी र चिया रहेका छन्। निर्यात ८८ प्रतिशतले बढे पनि दुई महिनामै मुलुकको व्यापार घाटा दुई खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा करिब साढे आठ प्रतिशतले बढी हो।
यसैबीच, जेनजी आन्दोलनमा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सरकार भन्सार छुट दिने निर्णय कार्यान्वयनमा ल्याउँदैछ। अर्थ मन्त्रालयले सूचना प्रकाशित गरी आन्दोलनका कारण उद्योग, व्यापार तथा प्रतिष्ठानमा भएको क्षतिग्रस्त वस्तु पुनः स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री आयात गर्दा भन्सार महसुल र अन्तः शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ। मन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन यस्तो व्यवस्था गरिएको बताएका छन्।