चालू आवको पहिलो महिनामै लक्ष्यभन्दा कम राजस्व संकलन, खर्चमा पनि सुस्तता

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै राजस्व संकलनमा अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा ८५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा ७ अर्ब ९२ करोड कम हो । गत वर्षको साउनमा ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ राजस्व उठाइएको थियो।

चालू आवमा सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । तर साउन मसान्तसम्म कर राजस्वबाट ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ (लक्ष्यको ६.०९ प्रतिशत) मात्र संकलन भएको छ । गैर कर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख (२.४६ प्रतिशत), वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख र अन्य शीर्षकबाट ३० करोड ८९ लाख संकलन भएको विवरणमा उल्लेख छ।

यस वर्ष कर राजस्व १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख, गैर कर राजस्व १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख र वैदेशिक अनुदान ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ उठाउने लक्ष्य लिइएको छ।

राजस्व संकलनसँगै खर्चतर्फ पनि प्रगति कमजोर देखिएको छ । कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा साउन मसान्तसम्म ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

महालेखाका अनुसार चालू खर्चतर्फ विनियोजन गरिएको ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये १.५६ प्रतिशत (१८ अर्ब ४७ करोड ९८ लाख) खर्च भएको छ । पुँजीगत खर्चतर्फ भने विनियोजन गरिएको ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँमध्ये ०.१८ प्रतिशत (७२ करोड ६३ लाख) मात्र खर्च भएको छ।

सबैभन्दा बढी खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । उक्त शीर्षकका लागि ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ७.२२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड खर्च भएको महालेखाले जनाएको छ।