दरमखोला हाइड्रोको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि २४ लाख २३ हजार १८५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गरिनेछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ साउन १९ गतेसम्म बन्द हुनेछ भने मागभन्दा कम आवेदन परेमा साउन २९ गतेसम्म खुला रहनेछ।

कम्पनीले हाल ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई 'डबल बी माइनस' रेटिङ प्रदान गरेको छ, जसले औषत जोखिम रहेको जनाउँछ। सो आयोजनाको विद्युत अनुमतिपत्र अझै २८ वर्ष बाँकी छ भने लगानी फिर्ता हुने अनुमानित अवधि ९.८३ वर्ष र छुटमा फिर्ता हुने अवधि १७.९० वर्ष रहेको छ। यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।