बुङ्गल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। उक्त बिक्रीको प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको थियो।

बझाङमा अवस्थित १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०८० भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे रहेका छन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, बिरेन्द्र बहादुर मल्ललगायत रहेका छन्। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो।