काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सन् १९९३ मा ३० शैयाबाट सेवा सुरु गरेको नर्भिक अस्पताल अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । अस्पतालले निकट भविष्यमा ३०० शैयामा स्तरोन्नति गर्ने तयारी गरिरहेको छ । अत्याधुनिक पूर्वाधार र अत्याधुनिक चिकित्सा प्रविधिमा निरन्तर लगानी गर्दै आएको नर्भिकले नेपाल र नेपाल बाहिरका बिरामीलाई विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।