जेनजी आन्दोलनपछि बन्द भएको शेयरबजार आजदेखि खुल्दै

काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द भएको शेयरबजार आज (असोज २ गते, बिहीबार) देखि पुनः सञ्चालनमा आउने भएको छ। धितोपत्र बोर्डले भदौ ३१ गते नेप्सेलाई असोज २ गतेदेखि बजार सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो।

यसअघि नेप्सेले असोज १ गतेदेखि कारोबार सुरु गर्ने प्रस्ताव गरेको भए पनि सो दिन सरकारले सार्वजनिक विदा घोषणा गरेपछि बजार असोज २ गतेबाट मात्र खुल्न लागेको हो।

नेप्सेका अनुसार बजार दुई घण्टा मात्र सञ्चालन हुने वा सर्किट ब्रेक नियम परिवर्तन हुनेजस्ता हल्लाहरू निराधार रहेका छन्। आजदेखि शेयर कारोबार साविककै समय र नियमअनुसार सञ्चालन हुनेछ।

यसअघि नेप्सेले असोज ५ गतेदेखि मात्र बजार खोल्ने निर्णय गरेको थियो। तर नयाँ सरकार गठन भइसकेको, निषेधाज्ञा तथा कर्फ्यु हटिसकेको र जनजीवन सामान्य अवस्थामा फर्किसकेको अवस्थालाई मध्यनजर गर्दै बजार निर्धारित मिति अगावै खोल्ने तयारी गरिएको हो।

यता, विभिन्न लगानीकर्ता संघ–संस्थाले राजनीतिक स्थिरता कायम नहुँदासम्म बजार नखोल्न माग गर्दै आएका थिए।