काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले कात्तिक १ गते बिहीबार १ खर्ब रुपैयाँ वित्तीय प्रणालीबाट उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम प्रणालीबाट झिक्न लागेको हो । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि एकैपटक १ खर्ब रुपैयाँ बजारबाट झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । 

निक्षेप संकलन खरिदका लागि कात्तिक १ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ ।  घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी नहुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असोज २९ गतेसम्म वित्तीय प्रणालीमा ७९ अर्ब २९ करोड १६ लाख रुपैयाँ अधिक तरलता छ । तरलता व्यवस्थापनकै लागि मंगलबार बैंकहरुले ३ खर्ब ३१ अर्ब २० करोड स्थायी निक्षेप सुविधा (एसडीएफ) मा लगानी गरेका थिए । उक्त उपकरणमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । सो एसडीएफ पनि कात्तिक १ गते नै परिपक्क हुँदैछ । 

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुमा कुल ६६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५२ खर्ब ७६ अर्ब कर्जा लगानी गरेका छन। बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४४ प्रतिशत छ। यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ७७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ । 

अर्थतन्त्रका बाह्य सूचक सबल भए पनि आर्थिक गतिविधि चलायमान हुन सकेको छैन । राजस्व संकलन, पुँजीगत खर्चलगायत समग्र सरकारी वित्तमा अपेक्षित सुधार हुन नसक्दा आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन । जसले गर्दा बैंकहरुमा कर्जाको माग बढ्न नसक्दा बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस परेको छ ।