काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु र ओखलढुंगाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले ओखलढुंगाको खिजिदेम्बा गाउपालिका वडा नम्बर ८ का स्थानीय र सोलुखुम्बी जिल्ला लिखुपिके गाउपलिका वडा नम्बर २ स्थानीयलाई १ लाख ६८ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा असार १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा असार १३ गतेसम्म आवेदन दिन सकिने छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ९ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो। अब कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।