काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा खारेज गरेको छ। यो निर्णयसँगै TPS का आधारमा अमेरिकामा बसोबास गरिरहेका करिब ७ हजार नेपालीले अब स्वदेश फर्कनुपर्ने अवस्था आएको छ। अमेरिकी गृह सुरक्षा विभाग (DHS) का अनुसार, नेपालमा हाल गम्भीर मानवीय संकट नरहेको भन्दै TPS खारेज गर्ने निर्णय गरिएको हो। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको वेबसाइटमा उल्लेख भएअनुसार, नेपालका लागि TPS को मान्यता ५ अगस्ट २०२५ राति ११:५९ बजे अन्त्य हुनेछ। TPS बाहेक अन्य कानुनी आधार नभएका नेपाली नागरिकहरूलाई नेपाल फर्किन तयार रहन DHS ले आग्रह गरेको छ।
टीपीएस अमेरिकी आप्रवासन प्रणालीअन्तर्गत प्राकृतिक विपद्, युद्ध वा अन्य मानवीय संकटका कारण अस्थायी रूपमा प्रभावित देशका नागरिकलाई दिइने सुविधा हो, जसले उनीहरूलाई अमेरिका बस्न, काम गर्न र कहिलेकाहीँ यात्रा गर्न अनुमति दिन्छ। तर नेपालमा हाल बाढी, पहिरो लगायतका वातावरणीय चुनौती हुँदाहुँदै पनि सरकारको प्रकोप व्यवस्थापन क्षमतामा सुधार, पूर्वाधारको पुनर्निर्माण र आर्थिक स्थायित्वको प्रगति भएको भन्दै TPS आवश्यक नरहेको ठहर गरिएको हो। अमेरिका छोड्ने तयारीमा रहेका नेपालीले सीबीपी होम मोबाइल एप प्रयोग गर्न सक्ने जानकारी समेत दिइएको छ।