मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र लयमा आउँदै  गरेको खुलासा गर्‍यो। 

कोषको टोली गत भदौ २६ गते देखि असोज ६ गतेसम्म नेपाल भ्रमणमा थियो। टोलीको नेतृत्व गरेका सरवत जहान वासिङ्टन पुगेपछि दिएको वक्तव्यमा उनले सो कुरा बताएका हुन्। 

उनले आफ्नो वक्तव्यमा नेपालको अर्थतन्त्रले रिकभरिका प्रारम्भिक सङ्केतहरू देखाइरहेको बताएका थिए। यद्यपि उनले नेपालको अर्थतन्त्रलाई दिगो बलियो र समावेशी आर्थिक वृद्धितर्फ लैजान थप सुधार आवश्यक रहेको समेत उजागर गरे। उनको वक्तव्य आएकै दिन दोस्रो बजारमा भने भारी गिरावट आयो। मंगलबार सूचक ५८.९४ अंकले घट्यो। शेयर बजारका लगानीकर्ताले मुलुकको अर्थतन्त्र सुधारतर्फ गइरहेको पत्याएनन्। तर मंगलबार आइएमएले नेपालको अर्थतन्त्र सुधार तर्फ गइरहेको भन्दै गर्दा लगत्तै बुधवार अर्को अन्तर्राष्ट्रिय संस्थाले समेत नेपालको अर्थतन्त्र सुधारतर्फ रहेको भन्यो। एसियाली विकास बैंक (एडिबी) ले बुधवार सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकमा नेपालको अर्थतन्त्र सुधार तर्फ गइरहेको उल्लेख गरेको छ। उसले मौसममा देखिएको सुधारले कृषि क्षेत्रमा सुधार हुने र मौद्रिक नीतिमा देखाइएको लचकताले आन्तरिक मागमा सुधार हुन गई त्यसले आर्थिक वृद्धिमा टेवा पुर्‍याउने प्रक्षेपण गरेको छ।

मंगलबार आइएएफको वक्तव्यलाई खासै इन्टरटेन नगरेका शेयर बजारका लगानीकर्ताले बुधवार भने केही हदसम्म पत्याएका छन्। बुधवार एडिबीको प्रक्षेपण सार्वजनिक भए सँगै शेयर बजारको कारोबार मापक सूचक ४९.८१ अंकले बढेको छ। तर सूचक बढे पनि कारोबार रकम भने घटेको छ। जसले गर्दा बुधवारको यो वृद्धि दिगो हुँदैन कि भन्ने आशङ्का दोस्रो बजारमा गरिएको छ। किनकि सूचक बढ्दा कारोबार रकम समेत बढे त्यसले वृद्धि निरन्तर हुन्छ भन्ने मान्यता बजारमा स्थापित छ।

हुन त मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ भन्ने सङ्केत शेयर बजारले यस अघि नै गरेको थियो। किनकि सूचक छोटो अवधिमा नै तीन हजार बिन्दुसम्म उक्लिएको थियो। तर त्यो वृद्धि टिकाउ हुन सकिरहेको छैन। जबकि अर्थतन्त्र सुधार तर्फ लम्कँदै गर्दा सूचकले पनि त्यसमा साथ दिनु पर्ने थियो। जुन हुन सकिरहेको छैन। लगानीकर्ताले सुधार हुँदै गरेको अर्थतन्त्रलाई विश्वास गर्न सकिरहेका छैनन्। जसले गर्दा लगानीकर्ताको मनोबल घट्दो देखिएको छ। तर लगानीकर्ताले यसरी मनोबल कमजोर बनाउन नहुने तर्क बजारका जानकारबाट आउन थालेको छ। “आइएमएफ र एडिबीले समेत नेपालको अर्थतन्त्र लयमा आएको भनिसकेका छन्। अर्को तर्फ बजार घट्नु पर्ने फण्डामेन्टल आधारहरू केही पनि नरहेको अवस्थामा पनि हिजोसम्म बजार अस्वाभाविक रुपमा घट्यो। त्यस कारण अब लगानीकर्ताको मनोबल फर्काउन सरकारले केही नीतिगत निर्णयहरू गर्नु पर्छ,” भिजन सेक्युरिटिजका सञ्चालक राजकुमार तिम्सिनाले मेरो लगानीसँग भने।

तिम्सिनाका अनुसार सरकारका तर्फबाट केही नीतिगत व्यवस्थाहरू गर्नु पर्ने हो भने सरकारले पनि त्यतातिर ध्यान दिनु पर्‍यो। नत्र भए बजार घट्नु पर्ने कुनै कारण छैनन्। अर्थतन्त्र राम्रो दिशा तर्फ जाँदै गर्दा बजारमा लगानीकर्ताले डराउनु पर्ने अवस्था हुँदैन। बरु यति बेला लगानीकर्ताले लगानी बढाउने तर्फ लाग्नु पर्ने हुन्छ। न कि अर्थतन्त्र बलियो हुँदै गर्दा लगानी घटाउने तर्फ सोच्नु लगानीकर्ताकै लागि घातक हुन सक्छ।