काठमाडौं । धितोपत्रको दोस्रो बजार घट्दाको असर सरकारी आम्दानीमा पनि देखिएको छ । भदौमा धितोपत्रको दोस्रो बजारबाट सरकारले संकलन गरेको पूँजीगत लाभकर साउनको तुलनामा झन्डै आधा छ ।

धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार भदौमा धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफामा कारोबार गर्दा सरकारलाई २ अर्ब ५७ करोड रुपैयाँभन्दा धेरै पूँजीगत लाभकर तिरेका छन् । साउनमा त्यस्तो कर ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी संकलन भएको थियो । 

साउनमा धितोपत्रको दोस्रो बजारको तथ्यांकीय मापक ३ हजार बिन्दुभन्दा माथि पुगेको थियो भने एकै दिनमा झन्डै ३० अर्ब रुपैयाँको धितोपत्र किनबेच भएको थियो । 

विवरण भदौ साउनफरक रकम
कुल पूँजीगत लाभकर (रू. हजार) २,५७९,४८०४,२३७,८६१–१,६५८,३८१
कुल बजार पूँजीकरण (रू. दश लाख)४,१०३,६१९.२१४७६५९०९.८९–६६२२९०.६८
स्रोत : नेप्से र सीडीएससी   

भदौ लागेसँगै धितोपत्रको दोस्रो बजारको सूचक घट्दो क्रममा छ । सोमवार नेपाली धितोपत्रको दोस्रो बजारको सूचक नेप्से २ हजार ५२९.३३ बिन्दुमा बन्द भयो । गत असार १७ देखि २ हजार ३० बिन्दुबाट उकालो लाग्न थालेको नेप्से साउन अन्तिम दिनसम्म ३ हजार बिन्दुभन्दा माथि पुगेको थियो । साउनको तुलनामा भदौमा नेप्सेसँगै कारोबार रकम घट्दा सरकारको आम्दानीमा असर परेको हो ।

धितोपत्र राफसाफकर्ता सीडीएससीले दिएको जानकारीअनुसार गतवर्ष भदौको तुलनामा यस वर्ष भदौमा भने कुल पूँजीगत लाभकर बढी संकलन भएको छ । 

गतवर्ष भदौमा १४ करोड रुपैयाँभन्दा केही बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार गतवर्ष भदौमा व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट ६ करोड ६७ लाख ६२ हजार रुपैयाँ लाभकर संकलन भएकोमा यस वर्ष ७३ करोड ३९ लाख ५५ हजार रुपैयाँ नाघेको छ । 

अल्पकालीन लगानीकर्ताबाट गतवर्ष भदौमा ७ करोड ६६ लाख रुपैयाँभन्दा धेरै संकलन भएकोमा यस वर्ष बढेर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ नाघेको छ । 

संस्थागत लगानीकर्तातर्फ गतवर्ष भदौमा ६७ लाख रुपैयाँभन्दा बढी संकलन भएको लाभकर यसपालि बढेर ३० करोड ७० लाख रुपैयाँ नाघेको छ । सरकारले धितोपत्रको दोस्रो बजारबाट संकलन गर्ने पूँजीगत लाभकर वर्षेनि बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७९/८० मा २ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी लाभकर संकलन भएकोमा आव २०८०/८१ मा बढेर ५ अर्ब ५० करोड रुपैयाँ नाघेको सीडीएससीको तथ्यांकले देखाउँछ । 

यसैबीच, साउनको तुलनामा भदौमा सरकारको आम्दानी करीब २ अर्ब घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य ६ खर्ब ६२ अर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । साउनको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण भदौको अन्तिम कारोबार दिन ४१ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी कायम भएको हो ।

हालको व्यवस्थाअनुसार धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएको खण्डमा सरकारलाई अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्छ । संस्थागत लगानीकर्ताले पूँजीगत लाभमा १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ ।एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम धितोपत्र कायम गर्ने लगानीकर्तालाई अल्पकालीन मानेर सरकारले अल्पकालीनबाट ७ दशमलव ५ र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ ।

धितोपत्रको दोस्रो बजारमा २३ लाखभन्दा बढी लगानीकर्ता सहभागी भएको अवस्थामा ती लगानीकर्तालाई बजारमा टिकाइराख्न सरकारले ध्यान नदिएको आरोप जानकारहरूले लगाएका छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको टीएमएस प्रणाली व्यवधानरहित नभएकोमा चिन्ता व्यक्त गरे । बेलाबेला नेप्सेको टीएमएस प्रणालीमा समस्या आउँदा विश्वसनीय कारोबार हुन नसकेको भन्दै फुल्लेलले व्यवधानरहित टीएमएसको व्यवस्था गर्नुपर्नेमा जोड दिए । करीब ९ महीनादेखि रिक्त नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलपूर्ण बन्दा यसले बजारमा नकारात्मक असर पारेको पनि उनले बताए । बजारलाई चलायमान बनाउन अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकले बोर्ड अध्यक्षको जिम्मेवारी पाए पनि प्रभावकारी रूपमा जिम्मेवारी पूरा गर्न नसकेकाले जतिसक्दो चाँडो अध्यक्ष नियुक्त गर्न फुल्लेलले माग गरे ।