काठमाडौँ — नेपालले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग– २ को बिहीबार बिहान भएको खेलमा ओमानको हातबाट एक विकेटको हार ब्यहोरेको छ । ओमनले अन्तिम बल बाँकी छँदा खेल जितेको हो ।

जितका लागि २ सय २१ रनको लक्ष्य पाएको ओमानले ४९=५ ओभरमा नौ विकेट गुमाएर २ सय २३ रन बनाएको हो ।

नेपालले अहिलेसम्म खेलेका छ खेलमा १ जित र ५ हार ब्यहोरेको छ  र नेपाल आठ टिममध्ये २ अंक सहित सातौं स्थानमा छ । ओमान नेपालको ठीक माथि छैटौं स्थानमा छ र उसको पाँच अंक छ ।

टस हारेर पहिले ब्याटिको मौका पाएको नेपालले नौ विकेटमा २ सय २० रन बनाएको थियो । कमजोर सुरुआत गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । यस्तै गुलसन झाले ५३ रनको योगदान दिए ।

जवाफमा ओमानले ४९.५ बलमा आफ्नो लक्ष्य पुरा गर्यो । गुल्सनले ४७ रनमा पाँच विकेट लिएपनि नेपाललाइ जित दिलाउन सकेनन् । ओमानलाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएकोमा सकिल अहमदले दोस्रो बलमा चौका प्रहार गरे । यस्तै अन्तिम दुई बलमा दुई रन चाहिएको बेला कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई सनसनीपूर्ण जित दिलाए । हारका बावजुत गुल्सन ‘प्लेयर अफ द म्याच’ रहे ।