
काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एशिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन्। घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु भएको छ।
प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन्। नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्। यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन्। आज नै माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्दैछन्।
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन्। हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो। शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो। हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका थिए। जारी प्रतियोगितामा पाँच अङ्क बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो।
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई आठ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई छ विकेटले हराएको थियो। उता कुवेतले शनिबार बिहान भएको खेलमा कतारलाई छ विकेटले हराउँदै चार अङ्कसहित फाइनलमा पुगेको थियो।रासस