अर्थतन्त्र सुधारको दिशा: सात महिनामा सूचकहरूले के देखाए?

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवस्थामा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार माघ मसान्तसम्मको अवधिमा मूल्यवृद्धिमा सुधार भएको छ भने रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । चालु खातामा पनि सुधार देखिएको छ । तर, शोधनान्तर स्थिति भने गत वर्षको तुलनामा केही कमी आएको छ । तर, समग्रमा सबैजसो तथ्यांकहरू बलियो देखिएका छन् ।

मूल्य वृद्धिको अवस्था

महँगी एक वर्षअघिको तुलनामा घटेको छ । २०८१ माघ महिनामा वार्षिक विन्दुुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.१६ प्रतिशत रहेको छ । एक वर्षअघि यस्तो महँगी दर ५.०१ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहमा महँगी ४.९५ प्रतिशत, गैरखाद्य तथा सेवा समूहको महँगी ३.७४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको महँगी दर क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको छ ।

७.३ प्रतिशतले बढ्याे रेमिट्यान्स 

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स) बढेको छ । तथ्यांक अनुसार चालु आवको ७ महिनाको ९ खर्ब ५८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा ७.३ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएकोे थियो ।

तथ्यांक अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक वर्षअघिको तुलनामा ५.३ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ । गत वर्षको माघ मसान्तसम्म यस्तो रेमिट्यान्स ६ अर्ब ३१ करोड अमेरिकी डलरबराबरको भित्रिएको थियो । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२१ पुगेको छ । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

१४.४ महिनाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सञ्चित रहेको विदेशी विनियमले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्मा १६.१ प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

सञ्चित रहेको विदेशी विनिमयमध्ये नेपाल राष्ट्र बैंकमा २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड सञ्चित रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना ६ दिनको वस्तु आयात वा १४ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थियो ।

चालु खाता १ खर्ब ६६ अर्ब बचतमा

मुलुकको चालु खाता बचत पनि बढेको छ । २०८१ माघ मसान्तसम्म चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा छ । गत वर्ष माघमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा २०८१ माघमा एक अर्ब २४ करोडले चालू खाता बचतमा छ । गत वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब १९ करोड थियो ।

शोधनान्तर बचत घट्यो

चालु आर्थिक वर्षको ७ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति बचत घटेको छ । २०८१ माघमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा छ । गत वर्ष माघमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष माघमा दुई अर्ब २४ करोड बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष दुई अर्ब ११ करोडले बचतमा छ ।

विदेश भ्रमण र शिक्षामा खर्च बढ्यो

विदेश भ्रमण र अध्ययनमा १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । जुन गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा १०.६० प्रतिशत बढी हो । यसमध्ये शिक्षातर्फको खर्च ६४ अर्ब १५ करोड र विदेश भ्रमणमा भएको खर्च ५१ अर्ब ७३ करोड रुपैयाँ छ । गतवर्ष शिक्षातर्फ ६६ अर्ब ६४ करोड र भ्रमणमा ३८ अर्ब ११ करोड रुपैयाँ गरी कुल १ खर्ब चार अर्ब ७५ करोड खर्च भएको थियो ।

नेपाल भ्रमणमा आउने पर्यटकबाट यस आर्थिक वर्षको सात महिनामा ४९ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा भ्रमण आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो । समग्रमा खुद सेवा आय ५० अर्ब रुपैयाँ २२ करोडले घाटामा छ । गत वर्ष यस्तो घाटा ३६ अर्ब ३८ करोड रुपैयाँ थियो ।

आयात निर्यातको अवस्था

वार्षिक विन्दुगत आधारमा २०८१ माघ महिनामा नेपालका निर्यात र आयात मूल्य सूचकांकमा परस्पर विरोधी प्रवृत्ति देखिएको छ । भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १.१ प्रतिशतले घटेको छ, जबकि आयात मूल्य सूचकाङ्क भने ०.७ प्रतिशतले वृद्धि भएको छ । यसकै प्रभावस्वरूप व्यापारको शर्त १.८ प्रतिशतले कमजोर भएको देखिन्छ, जसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिकूल असर पार्न सक्ने संकेत गर्दछ।

आन्तरिक कर्जाको वृद्धि सुस्त

आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा कुल आन्तरिक कर्जा ४.३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी भने २०.३ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा पनि २०८१ माघ मसान्तमा सरकारमाथिको खुद दाबी १०.१ प्रतिशतले घटेको छ ।

त्यस्तै, समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५.१ प्रतिशत वृद्धिको तुलनामा उच्च देखिन्छ। वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले वृद्धि भएको छ । जसले निजी क्षेत्रको ऋण लिने प्रवृत्ति क्रमिक रूपमा बढिरहेको संकेत गर्छ ।

बैंक र वित्तीय संस्थाहरूको निक्षेप ३.८ र कर्जा प्रवाह ५.६ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत) ले वृद्धि भएको छ । यस्तो निक्षेप संकलन अघिल्लो वर्षको सोही अवधिमा रु.३९७ अर्ब २० करोड (७.० प्रतिशत) ले वृद्धि भएको थियो । वार्षिक आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा ९.७ प्रतिशतको वृद्धि भएको छ । २०८१ माघ मसान्तमा कुल निक्षेपको अंशमा चल्ती निक्षेपको अंश ५.२ प्रतिशत, बचत निक्षेपको अंश ३४.८ प्रतिशत, र मुद्दती निक्षेपको अंश ५२.४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत रहेको थियो। यससँगै, २०८१ माघ मसान्तमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत पुगेको छ, जुन २०८० माघ मसान्तमा ३६.४ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.२८३ अर्ब ४६ करोड (५.६ प्रतिशत) ले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले वृद्धि भएको थियो। वार्षिक आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ । २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो। यस क्रममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ३.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले वृद्धि भएको छ।