७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको छ। राज्यलाई तिर्नुपर्ने राजस्व नबुझाएको भन्दै प्राधिकरणले ती सेवा प्रदायकहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई अन्तिम चेतावनी दिएको हो।

प्राधिकरणका अनुसार ती कम्पनीहरूले विगत केही वर्षदेखि अनिवार्य लेखापरीक्षण प्रतिवेदन, रोयल्टी तथा कोष वापतको रकम तोकिएको समयमा नबुझाएका हुन्। पटक-पटक पत्राचार, ईमेल र सूचना मार्फत जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नआएपछि प्राधिकरणले १५ दिनको समयसीमा तोकेको हो।

उक्त सूचीमा क्लासिक टेक, डिश मिडिया नेटवर्क, वेबसर्फर, वाईफाई नेपाल, टेकमाइन्ड्स नेटवर्क, एरोनेट, मर्कन्टाइल कम्युनिकेसन्स, ब्रोडब्यान्ड नेपाल, एभरेष्ट लिंक, इस्ट लिंक, जानकी नेट, कालिका नेटलगायतका सेवा प्रदायकहरू परेका छन्।

प्राधिकरणले तोकिएको समयसीमाभित्र बक्यौता रकम नतिरे कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।