
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले डिजिटल बैंकिङको नयाँ युगतर्फको कदमस्वरूप ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सेवा’ सुरु गरेको छ। फोनपे नेटवर्कसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालमै पहिलोपटक सार्वजनिक गरिएको हो। यसमार्फत ग्राहकले फोने पे सञ्जालमा आबद्ध कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी आरबीबीको शाखाबाट चेक वा एटिएम कार्डबिना सिधै नगद झिक्न सक्नेछन्।
‘क्युआर स्क्यान, क्यास विद्ड्रन — सिम्पल, स्मार्ट, सिमलेस’ नारासहित सार्वजनिक गरिएको यस सेवाले नगद झिक्ने पारम्परिक प्रक्रियालाई डिजिटल र सहज बनाएको छ। ग्राहकले आरबीबी शाखामा रहेको टेलर काउन्टरमा राखिएको क्युआर कोड स्क्यान गरी, आवश्यक रकम प्रविष्ट गरेपछि मोबाइल एपमार्फत कारोबार स्वीकृत गर्न सक्छन्। त्यसपछि तुरुन्तै नगद प्राप्त गर्न सकिनेछ।
यो सेवा विशेषगरी एटिएमको पहुँच सीमित रहेका क्षेत्रहरू तथा आफ्नै बैंक शाखामा जान नसक्ने ग्राहकहरूका लागि उपयोगी ठहरिएको छ। जुनसुकै फोनपे सञ्जालमा आबद्ध बैंकको मोबाइल एपबाट यो सेवा प्रयोग गर्न सकिने भएकाले यसले नगद कारोबार प्रक्रियामा सहजता र लचकता ल्याएको छ।
आरबीबीको यो पहल नेपालमा बैंकिङ अन्तरसंयोजन (interoperability) को दिशामा एक महत्वपूर्ण प्रगति मानिएको छ। बैंकले आगामी दिनहरूमा प्रविधिमैत्री र ग्राहक केन्द्रीत सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ।