स्थापक शेयरको रुपान्तरण सहित सिबिफिनले दियाे १९ बुँदे सुझाव

नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्नेलगायतका १९ बुँदे सुझाव दिएकाे छ । सिबिफिनको पाँर्चा वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष उपेन्द्र पौडेलले यस्ताे सुझाव दिएका हुन । अर्थतन्त्रको बाह्य अवस्था सुध्रिएकोमा गर्व गरिरहँदा आन्तरिक अर्थतन्त्र कमजोर अवस्थामा देखिएको उनले बताए ।

आम लगानीकर्ता, उद्यमी/व्यवसायीहरुमा निराशा छाएको कारण न्यूनतम ब्याजदरमा पर्याप्त तरलता उपलब्ध हुँदा समेत लगानी/कर्जा विस्तार हुन नसक्दा आर्थिक एवं बैंकिङ गतिविधिहरु सुस्ताएको अवस्थामा रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुको मुनाफामा अनपेक्षितरुपमा गिरावट आइरहँदा बैंकिङ क्षेत्रका लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्र खोज्दै क्रमशः बाहिरिने कोशिस भइरहेको अध्यक्ष पौडेलको भनाइ छ ।

लागत खर्चमा भएको वृद्धि, मुनाफामा आएको संकुचन, खराब र निष्कृय कर्जामा वृद्धि, गैर बैंकिङ सम्पत्तिको बेचबिखनमा सुस्तता, दक्ष जनशक्तिको पलायनलगायतका कारणले समस्या थपिदै गएको छ । यसरी एकपछि अर्को समस्या एवं चुनौतीहरुबाट बैंकिङ क्षेत्र गुज्रिदै गएको पछिल्लो परिवेशबाट मुलुकको अर्थतन्त्रले कतै बाटो बिराउने होइन भन्ने भन्ने गंभीर प्रश्न खडा गरेको विषयलाई अर्थतन्त्रका सरोकारावालाहरुले पनि गंभीरताका साथ चिन्तन मनन गर्न जरुरी भएको पनि उनले बताए ।