काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो साधारणसभा भदौ २५ गते बुधबार आम्रपाली ब्यान्क्वेटमा आह्वान गरेको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश सहित कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण गरिनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी भई प्रस्तावित लाभांश पाउनेछन् ।
सभामा पेश हुने प्रस्तावहरू
सामान्य प्रस्तावहरू:
अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्ने।
२०८१/८२ को आय–व्यय विवरण, नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदन स्वीकृत गर्ने।
आगामी वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।
चुक्ता पूँजीको ०.६३२ प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजनका लागि) स्वीकृत गर्ने।
समुह (क) बाट ४ जना सञ्चालकको निर्वाचन गर्ने।
स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने।
विशेष प्रस्तावहरू:
चुक्ता पूँजीको १२ प्रतिशत बराबरको बोनस शेयर स्वीकृत गर्ने।
अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र–नियमावली संशोधन गर्ने।
नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र–नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।