रुपा खाति नुवाकोट । अनुपम अभियान अन्तर्गत सञ्चालित “राजनीतिक खबरदारी” कार्यक्रमको सन्दर्भमा हस्ताक्षर संकलन अभियान नुवाकोट जिल्लाको प्रसिद्ध जालपा मन्दिर परिसरमा सम्पन्न भएको छ।
महिला सशक्तिकरण, अधिकार र राजनीतिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित उक्त अभियानले स्थानीयस्तरमा महिला नेतृत्वको आधार निर्माण गर्ने विश्वास लिइएको छ।
अभियानको आयोजना अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) ले गरेको हो। कार्यक्रममा गङ्गा आरती समूहका सदस्य, स्थानीय भद्रभलाद्मी, युवा तथा अन्य जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी ५३ जनाले हस्ताक्षर गरी महिला सशक्तिकरणप्रति ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमको सहजीकरण अनुपम अभियन्ता राजेन्द्र पुडासैनी, यशोदा कँडेल र रुपा खातीले गर्नुभएको थियो। गङ्गा आरती समूहका अध्यक्षले माता जालपा देवीको पूजापाठ तथा आशीर्वाद लिएर कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभयो। उहाँले अभियानले नुवाकोटमा महिलाको राजनीतिक क्षेत्रमा प्रभावकारी उपस्थितिको जग बसाल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई महिला अधिकार, सामाजिक न्याय र लैङ्गिक समानता सम्बन्धी विषयमा अभिमुखीकरण गराइएको थियो। साथै, आगामी दिनहरूमा लैङ्गिक समानता प्रवर्द्धन गर्न थप रणनीति अपनाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा अनुपम अभियान के हो भन्नेबारे जानकारी दिँदै, यसले देशव्यापी रूपमा महिला अधिकारप्रति चेतना अभिवृद्धि गर्न हस्ताक्षर संकलनमार्फत दबाब सिर्जना गर्ने कार्य गरिरहेको स्पष्ट पारिएको थियो। आगामी दिनहरूमा स्थानीय तहमा अझ धेरै हस्ताक्षर संकलन गरी राजनीतिक दलका प्रमुख नेताहरूलाई जिम्मेवार बनाउने र नैतिक दबाब सिर्जना गर्ने उद्देश्यका साथ अभियानलाई निरन्तर रूपमा अघि बढाइने अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) द्वारा जानकारी दिइयो।
महिला नेतृत्व र राजनीतिक सहभागिताको सम्भावनालाई बल दिने उद्देश्यले सञ्चालित उक्त अभियानले नुवाकोटमा महिला सशक्तिकरणप्रति चासो र जागरण अभिवृद्धि गरेको सहभागीहरूको धारणा थियो।