उपत्यकामा कर्फ्यु र निषेधाज्ञा अन्त्य, जीवनशैली सामान्यतर्फ

काठमाडौँ। लगातार ६ दिनदेखि जारी निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युबारे जानकारी दिँदै आएको थियो। तर, आज कुनै पनि निकायले यस्तो सूचना नजारी गरेसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यु स्वतः अन्त्य भएको छ।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। यातायात सञ्चालनमा आएका छन् भने बजार तथा व्यापारिक गतिविधि पनि पुनः सुरु भएका छन्। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा पनि आज बिहानदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।

जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँसहितका जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो। तर, गएराति राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको भावनाअनुसार सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक सामान्यतर्फ उन्मुख हुन थालेको देखिएको छ।