काठमाडौं । सरकारले घोषणा गरेको पछिल्लो राहत प्याकेजलाई निजी अटोमोबाइल क्षेत्रका व्यवसायीले स्वागत गरेका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै कठिन परिस्थितिमा आएको यो प्याकेजले उद्योगी व्यवसायीलाई ठूलो हौसला दिएको जनाएको छ।
नाडाका अध्यक्ष करण कुमार चौधरी नेतृत्वको टोलीले यसअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी आन्दोलनका कारण गम्भीर रूपमा प्रभावित अटो उद्योगलाई पुनर्जीवित गर्न विशेष प्याकेजको माग गरेको थियो। सरकारले सो मागलाई प्राथमिकताका साथ सम्बोधन गरेको भन्दै व्यवसायीहरूले आत्मबल बढेको प्रतिक्रिया दिएका छन्।
राहत प्याकेजअन्तर्गत बीमा दाबीको अग्रिम भुक्तानी, नयाँ सवारी खरिदमा न्यूनतम ८० प्रतिशत कर्जा सुविधा, क्षति भएका माल आयातमा ५० प्रतिशत भन्सार तथा अन्तःशुल्क छुट, कर कटौतीको व्यवस्था, साँवा–ब्याज भुक्तानी अवधि थप्ने सुविधा लगायतका व्यवस्था समावेश छन्। साथै, Payroll Protection Scheme मार्फत रोजगारी सुरक्षित गर्ने उद्देश्यसहित २ प्रतिशत अनुदानसहित सहुलियत कर्जा दिने व्यवस्था गरिएको छ।
यी प्रावधानहरूले प्रभावित अटोमोबाइल व्यवसायीलाई प्रत्यक्ष राहत दिलाउने अपेक्षा गरिएको नाडाले जनाएको छ। साथै, रोजगारी सुरक्षित हुने भएकाले सामाजिक स्थिरतामा समेत यसले योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।