निर्वाचनमा फागुन २० भित्र १८ वर्ष हुनेले पनि मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले पनि मतदान गर्न पाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र तीमध्ये संवत् २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्नेले मात्र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न सक्ने उल्लेख गरिएको छ।

संविधानको धारा ८४ को उपधारा ५ अनुसार १८ वर्ष उमेर पूरा गरेका बालिग नागरिकलाई मात्र मतदान गर्न सक्ने अधिकार रहेको आयोगले स्मरण गराएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो।