
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा (साउनदेखि चैत मसान्तसम्म) जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणका अनुसार, हाल सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बिमालेखमार्फत उक्त रकम आर्जन गरेका हुन्। तीमध्ये सबैभन्दा बढी बिमा शुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ, जसले १९ लाख ६० हजार ५३४ वटा सक्रिय बिमालेखबाट ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ।
दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले ६ लाख ८१ हजार ९८५ सक्रिय बिमालेखबाट १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। त्यस्तै, तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ४ लाख ६ हजार ३८७ सक्रिय बिमालेखमार्फत १२ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। अन्य प्रमुख जीवन बिमा कम्पनीहरू मध्ये नेसनल लाइफ इन्स्योरेन्सले १५ लाख ३४ हजार ९७७ बिमालेखबाट १५ अर्ब ६४ करोड, राष्ट्रिय जीवन बिमा कम्पनीले ५ लाख ७१ हजार ४९० बिमालेखबाट ८ अर्ब १६ करोड, मेट लाइफले ७ लाख ६४ हजार ८१८ बिमालेखबाट ४ अर्ब ४४ करोड, र एसियन लाइफले ८ लाख २२ हजार ७२९ बिमालेखबाट ६ अर्ब ४६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्।
त्यस्तै, आइएमई लाइफले ३ अर्ब ७७ करोड, सन नेपाल लाइफले ३ अर्ब ८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड, सिटिजन लाइफले ५ अर्ब ८ करोड, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड, सानिमा रिलायन्सले ४ अर्ब ८४ करोड, र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ६७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।
यसैबीच, लघु जीवन बिमा कम्पनीहरूले पनि उल्लेख्य बिमा शुल्क आर्जन गरेका छन्। तीनवटा लघु जीवन बिमा कम्पनीहरूले संयुक्त रूपमा ८५ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ५ लाख ७८ हजार ७६७ बिमालेखबाट ३२ करोड ५८ लाख, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख ७० हजार ८२० बिमालेखबाट ३२ करोड २० लाख, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख १० हजार ४७६ बिमालेखबाट २० करोड ७७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्।
बढ्दो आर्थिक सचेतना, बिमा सेवा विस्तार र नागरिकमा सुरक्षित भविष्यप्रतिको सोचसँगै जीवन बिमा क्षेत्रमा उल्लेख्य वृद्धि देखिएको छ। बिमा शुल्क आर्जनमा देखिएको यो उकालो यात्राले नेपाली बिमा बजारको स्थायित्व र प्रतिस्पर्धात्मकतालाई झल्काउँछ।