
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्ष पदका लागि वर्तमान सह–कोषाध्यक्ष गौतम पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। आगामी दुई वर्षका लागि शनिबार हुने निर्वाचनमा उनले प्रतिस्पर्धा गर्न लागेका हुन्।
पुडासैनीले आफ्नो उम्मेदवारीबारे प्रतिक्रिया दिँदै भने, "म अहिले सह–कोषाध्यक्षको जिम्मेवारीमा छु। अब कोषाध्यक्षमा उठ्ने निर्णय सबै सदस्य साथीहरूको सल्लाह र सहमतिमा गरेको हुँ। सह–कोषाध्यक्षको रूपमा मैले निभाएको भूमिकालाई सबैले सम्झिरहनुभएको छ, त्यसैले पनि म सबैको साथ र सहयोगको अपेक्षा राखेको छु।"
विसं २०८० साल असार २३ गते सम्पन्न निर्वाचनबाट राजु निरौलाको अध्यक्षतामा गठन भएको वर्तमान कार्यसमितिमा उनी सह–कोषाध्यक्ष रहेका छन्। फेकनमा हाल २६१ जना मतदाता छन्।
फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पुडासैनीले लेखेका छन्, "लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रही संस्थालाई सबल र उद्देश्यअनुकूल बनाउने अभियानमा निरन्तर लागिरहेको छु। संस्था संकटमा परेको बेला देखि नै मैले विभिन्न सरकारी निकायहरूसँग समन्वय गरी समाधानको बाटो पहिल्याउन अग्रसर भूमिका निभाउँदै आएको छु। एनओसी बन्द हुँदा मेरो आवाज पहिलोहरूमध्ये थियो।"
उनले हालसम्म शिक्षा मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय तथा केन्द्र सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर संवाद गर्दै समस्याहरू समाधानमा सक्रिय भूमिका खेल्दै आएको दाबी गरेका छन्। सह–कोषाध्यक्षको रूपमा कार्यकालमा उनले जापान विभागमार्फत शिक्षक तालिम, सूचना सत्र तथा विविध कार्यक्रमहरू सञ्चालनमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरेका छन्।
यस्ता छन् गौतमका एजेण्डा
गौतम पुडासैनीले आफ्नो कार्यकालमा संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउने लक्ष्य राखेका छन्। उनले प्रस्तुत गरेका योजनाहरूमा निम्न विषयवस्तुहरू रहेका छन्:
- फेकनको आर्थिक सुदृढीकरणका लागि पारदर्शी र दीगो आर्थिक योजना कार्यान्वयन गर्ने
- आइएलटीएस, पीटीई तथा जापानसम्बन्धी परीक्षा केन्द्रहरूसँग समन्वय गरी विद्यार्थीहरूको सहजताका लागि आवश्यक व्यवस्था मिलाउने
- बैंक, मेडिकल, ट्राभल तथा इन्स्योरेन्स क्षेत्रहरूसँग सहकार्य गरी सदस्यहरूलाई व्यावसायिक सेवामा सहयोग पु¥याउने
- कार्यकालभरमा संस्थाको लागि कम्तीमा १ करोड रुपैयाँको आर्थिक कोष निर्माण गर्ने
- फेकन कोषमार्फत सदस्यहरूको पेशागत दक्षता विकास गर्ने कार्यक्रमहरू अघि बढाउने
- संस्था सदस्य विस्तारका लागि अभियान सञ्चालन गर्ने
उनले संस्थाको समग्र हितका लागि आफूले प्रस्तुत गरेका योजना उपयोगी हुने भन्दै, सबै सदस्यहरूलाई एक पटक आफूलाई मतदान गर्न तथा अरूलाई पनि मत दिन प्रेरित गर्न अनुरोध गरेका छन्।