बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर

सुनसरी । जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहरिएकै अभियोगमा बराहक्षेत्र नगरपालिका–२, पुनर्वास, सुनसरीका भेषराज घिमिरेलाई सुनसरी जिल्ला अदालतले ३ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ।

२०८२ बैशाख १७ गते न्यायाधीश शम्भु गौतमको एकल इजलासले उनलाई दोषी ठहर गर्दै कैद सजाय तोकेको हो। घिमिरे २०८१ वैशाख ९ गते पक्राउ परी झुम्का कारागारमा पूर्वपक्षको थुनामा रहेका थिए। उनी पूर्व बराहक्षेत्र विकास समितिका अध्यक्ष, आदर्श मावि बराहक्षेत्र–२ का सह–प्राध्यापक, शंकराचार्य मठका तत्कालीन अध्यक्ष तथा नेकपा (एमाले) निकट राजनीतिमा सक्रिय व्यक्ति थिए।

२०८० फागुन ३० गते राति करिब ८ बजे बराहक्षेत्रस्थित एक महिलाको कोठामा प्रवेश गरी घिमिरेले जबरजस्ती करणी उद्योग गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन्।

प्रतिकार गर्ने क्रममा घिमिरे अझ आक्रामक बनेर करणीको प्रयासमा सफल भएका थिए। घटनापछि उनले आफू राधाकृष्ण भक्ति प्रतिष्ठान तथा प्रथम जगद्गुरु पीठको महत्वपूर्ण व्यक्ति भएको भन्दै धम्कीसमेत दिएका थिए। साथै, पीडितलाई आर्थिक प्रलोभन र धम्की दिँदै उजुरी फिर्ता गराउन पटक–पटक प्रयास गरिएको अनुसन्धानबाट खुलेको थियो।

अदालतले पर्याप्त प्रमाणका आधारमा दोषी ठहर गर्दै घिमिरेलाई कैद सजाय दिएको हो। पीडित महिलाले फैसला पछि प्रतिक्रिया दिँदै भनिन्, “यो फैसला मेरो मात्र होइन, सम्पूर्ण पीडित महिलाहरूको न्यायको जित हो।” विगत एक वर्षदेखि चलिरहेको मुद्दामा अदालतले निष्पक्ष रूपमा निर्णय दिएको भन्दै समाजमा महिलामाथि हुने यस्ता जघन्य अपराधविरुद्ध कडा सन्देश गएको छ।