
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ। बैंकले सूचना जारी गर्दै मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको जनकारी गराएको हो ।
केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको हो।
त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पूँजी र पूँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको र एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको बताएको छ । उक्त बैंकलाई नारायणीको सञ्चालक समितिलाई न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशनहरु पालना गर्न लिखित आदेश दिएको छ ।
यस्तै, राष्ट्र बैंकले सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पूँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि दिइएका निर्देशनहरु पनि पालना नगरेको जनाएको छ।
राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई भने न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको हो।
साथै, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै ५ लाख रुपैयाँ जरिवाना पनि गरेको छ । पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा ४६ हजार ७१८ रुपैयाँ २३ पैसा जरिवाना पनि तिर्नुपर्ने गरी कारबाही गरेको हो ।