एकैदिन ६ हजार ९०० रुपैयाँले बढेसँगै सुनको भाउ २ लाख नजिक

काठमाडौं । सुनको भाउ २ लाख नजिक पुगेको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ ६ हजार ९०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । जबकी सोमबार प्रतितोला सुन १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदि प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार १ तोला चाँदीको मूल्य १ हजार ९६० रुपैयाँमा कारोबार थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४८३.९१ अमेरिकी डलर र चाँदी ३२.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।