
काठमाडौं । विश्वविद्यालयको चौथो उपकुलपतिमा प्रा. डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सिनेट बैठकमार्फत वाग्लेलाई नियुक्त गरेका हुन्। उपकुलपति छनोट समितिमा मतभेद बढेपछि ओलीले हस्तक्षेप गरी उनलाई जिम्मेवारी दिएका हुन्। पूर्वउपकुलपति भोला थापाको कार्यकाल समाप्त भएपछि वाग्लेलाई कायममुकायम उपकुलपति बनाइएको थियो।
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम)का एसोसिएट डीन समेत रहेका वाग्लेले त्रिभुवन विश्वविद्यालयबाट एमए, बर्मिंघम विश्वविद्यालयबाट एमएस्सी र भारतको कानपुरस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उपकुलपति छनोट समितिले प्रारम्भिक रूपमा २० जनाको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरेको थियो, जसमा वाग्ले चयन भएका हुन्। विश्वविद्यालय ऐनअनुसार गठित समितिले नाम सिफारिस गर्न नसकेपछि ओली नेतृत्वको सभाले निर्णय गरेर वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेको हो।