एन्फा महिला लिगमा आर्मीसँग पुलिसको हार

काठमाडौं - एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो।बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेको बल रिबाउन्डमा आउँदा समिक्षा घिमिरेको प्रहार आफ्नै पोष्टमा गोल भएको थियो।लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्ने मौकालाई विभागीय डर्बीमा आर्मी आफ्नो पक्षमा पार्यो।

आर्मी र पुलिसले यसअघि दुवै भेटमा बराबरी खेलेका थिए। यी दुई टोलीले दोस्रो चरणमा १-१ र  अन्तिम चरणको पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए। यद्दपी पछिल्लो खेल विवादका कारण केहि समय रोकिएको थियो।५ खेलमा १५ अंकसहित एपिएफ शीर्ष स्थानमा छ। ६ खेलमा १३ अंकसहित आर्मी दोस्रो स्थानमा मजबुत भएको छ। तेस्रो पुलिसको १० अंक छ। शीर्ष ३ टोलीले प्ले अफमा ठाउँ सुरक्षित गरिसकेका छन्।

प्ले अफ पुग्ने चौथो टोलीका लागि बागमती युथ क्लब र वालिङ नगरपालिकाबिच प्रतिस्पर्धा छ। ६ खेलमा बागमतीको ३ अंक छ। वालिङले अहिले सम्म अंकको खाता खोलेको छैन।यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन चरणमा महिला लिग गरेको छ। पहिलो छनोट चरण सुर्खेतमा र १० टोलीको सहभागितामा दोस्रो चरण काठमाडौंमा आयोजना भएको थियो।

१० बाट शीर्ष ५ टोलीले अन्तिम चरणमा प्रवेश पाएका थिए। पाँचौं स्थानमा रहेको कोशी प्रदेशले नाम फिर्ता लिएपछि त्यसको ठाउँमा छैंटौं स्थानको बागमतीले मौका पाएको थियो।लिगमा पहिलो पटक प्ले अफ पनि राखिएको छ । जसमा शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। त्यसको विजेता फाइनलमा पुग्नेछ। पराजित टोलीले फाइनल पुग्ने अर्को एउटा मौका पाउनेछ।