
काठमाडौं । विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ। उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन्, जुन नेपाली समयअनुसार बेलुकी पौने ८ बजे कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ।
खेलअघि अभिनेत्री दिशा पटनी, गायिका श्रेया घोसाललगायत चर्चित कलाकारहरूको प्रस्तुति तय गरिएको छ। गत सिजन फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो उपाधि जितेको कोलकाताले विजयी सुरुवात गर्दै उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ भने हालसम्म उपाधि नजितेको बेंगलुरु नयाँ कप्तानको नेतृत्वमा पहिलो उपाधि जित्ने अभियानमा हुनेछ।
सन् २००८ मा सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान पाँच उपाधि जित्दै सबैभन्दा सफल टोली बनेका छन्, भने कोलकाताले तीनपटक र डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद तथा गुजरात टाइटन्सले एक-एक पटक उपाधि जितेका छन्।