प्रधानमन्त्री ओली आज न्युयोर्क जाँदै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली असोज ८ गते  हुन गइरहेको संयुक्त राष्ट्रसङ्घको  ७९ औँ अधिवेशनमा मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् ।

प्रधानमन्त्री ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्रमा भाग लिइ  असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने छन् 

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ