काठमाडौं- नबिल बैंकको लाभांश प्रस्तावको फाइल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागमा पुगेको छ। नबिलले प्रस्ताव गरेको लाभांशमाथि राष्ट्र बैंकले अध्ययन भइरहेको जनाएको छ।नबिलले गत आर्थिक वर्ष ७ अर्ब ६ करोड खुद नाफा गरेकोमा वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड रहेको छ। उक्त वितरणयोग्य नाफाका आधारमा हेर्दा नबिल बैंकले १४.२६ प्रतिशत लाभांश दिने क्षमता राख्छ।
नबिल बैंकको सञ्चालक समितिले १२ देखि १४ प्रतिशतको बीचमा रहेर लाभांश वितरणको अनुमति मागेको नबिल बैंक स्रोतको दाबी छ।नबिल बैंकले प्रस्ताव गरेको लाभांश सबै नगद रहेको बताइएको छ। यद्यपी राष्ट्र बैंक भने सबै नगद लाभांश वितरण गर्न दिने पक्षमा छैन।पुँजीकोषमा दबाब परेको भन्दै अग्राधिकार सेयर जारी गर्ने तयारीमा रहेको नबिल बैंकले सबै नगद लाभांश वितरण गर्दा भविष्यमा पुँजीकोषमा समस्या आउनसक्ने ठम्याइ राष्ट्र बैंकको छ। कर प्रयोजनका लागिमात्रै नगद लाभांश प्रस्ताव गरेर बाँकी रहेको बोनस सेयर घोषणा गर्न राष्ट्र बैंकले नबिल बैंकलाई दबाब दिने देखिएको छ।