काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो।
यस समूहका लागि कम्पनीले ४ लाख ९७ हजार ९२ कित्ता सेयर निष्काशन गरेको छ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई कुल ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको हो, जसको मूल्य ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबर हुन्छ।
एसवाई प्यानल नेपाल लिमिटेड दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो। एशियाकै अग्रणी प्यानल उत्पादक मानिने यस कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानल उत्पादन गर्दै आएको छ, जसले ताप/चिसो प्रतिरोध, लागत-प्रभावशीलता र मजबुती प्रदान गर्छ। कम्पनीले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि पूर्ण समाधान दिने दाबी गर्दै आएको छ। यससँगै कम्पनीले कोरियाली स्यान्डविच प्यानल, UPVC झ्याल, स्टिल ढोका लगायतका निर्माण सामग्री पनि उपलब्ध गराउँदै आएको छ।