साफ यू-१७ सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ । जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल कोलोम्बोस्थित रेसकोर्स स्टेडियममा नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।

आजै दिउँसो सवा ३ बजे पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान आमनेसामने हुनेछन्। प्रतियोगिताको फाइनल खेल शनिबारका लागि तय गरिएको छ। नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणमा नेपालले श्रीलंकालाई २–० ले पराजित गरेको थियो भने बंगलादेशसँग ४–० ले पराजित भएको थियो।

भारत भने समूह ‘बी’ मा अपराजित रहँदै विजेता बनेको हो। भारतले माल्दिभ्सलाई ६–० ले, भुटानलाई १–० ले र पाकिस्तानलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

नेपाली टोलीमा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन्। डिफेन्डरतर्फ प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन्।

त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान छन् भने फरवार्डतर्फ समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन्।