काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ८ गते बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। बजारमा अधिक तरलता बढेपछि केन्द्रीय बैंकले यसरी निक्षेप संकलन गर्ने निर्णय गरेको हो।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँका गुणकमा प्रस्ताव पेस गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने र बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
४ दिनको अवधि रहेको यो निक्षेप संकलन उपकरण अन्तर्गत असोज १२ गते साँवा तथा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।