काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने म्याद थपिएको छ। यसअघि तोकिएको अवधिभन्दा सार्वजनिक विदा परेको कारण अब असोज ५ गतेसम्म आम सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन्।
कम्पनीले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
वि.सं. २०६९ सालमा स्थापना भएको सागर डिष्टिलरीको फ्याक्ट्री नवलपुरको देवचुलीमा अवस्थित छ। कम्पनीले मदिराजन्य उत्पादन गर्दै आएको छ। यसको उत्पादनमा Royal Blue, Grey Wolf, Berries & Blues लगायतका ब्रान्ड रहेका छन् भने नेप्से बुल्स र द गभर्नर नामका प्रिमियम व्हिस्की पनि उत्पादनमा छन्।
कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य सञ्चालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन्। ज्योति दाहाल कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा रहेका छन्।