काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज (असोज २ गते, बिहीबार) बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बिहान ९:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा करिब १ लाख ७० हजार १ सय ५० जना मात्र लाभान्वित हुनेछन्।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ।
बुङ्गल हाइड्रो लिमिटेडले बझाङमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् भने संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ललगायत रहेका छन्। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो।