भक्तपुरमा परम्परागत इन्द्रजात्रा सुरु

भादगाउँ । भक्तपुरमा आजदेखि परम्परागत इन्द्रजात्रा सुरु भएको छ। टोलटोलमा इन्द्रको प्रतीकस्वरूप सानो लिंगो ठड्याइने परम्पराअनुसार विभिन्न स्थानमा ‘यम्वो द्यो’ स्थापित गरिएको छ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार भाद्र शुक्ल चौथीका दिन देवराज इन्द्रकी आमा वसुन्धराले पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई खोज्न पठाइएको थियो। तर दैत्यहरूले फूल टिप्दै गरेको बेला जयन्तलाई नियन्त्रणमा लिएका थिए। पछि देवता र दैत्यबीच भएको युद्धमा देवताको विजयपछि खुसीयालीस्वरूप इन्द्रजात्रा मनाउन थालिएको किवंदन्ती छ।

आज पूजाआजासहित भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायतका टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ। भक्तपुरमा यो पर्व आठ दिनसम्म निरन्तर मनाइने परम्परा छ।