बुङ्गल हाइड्रोको आईपीओ सर्वसाधारणका लागि आजदेखि खुला

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) बाट आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल १७ लाख १ हजार ५ सय कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ।

आवेदन भदौ १९ गतेसम्म दिन सकिने छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको थियो। बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको कम्पनीले २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीको अध्यक्ष शिव प्रसाद घिमिरे रहेका छन् भने अन्य सञ्चालकहरूमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ललगायत रहेका छन्।

बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो।