काठमाडौं । सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
हालका प्रहरी महानिरीक्षक दिपक थापा भदौ १८ गते मध्यरातदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपीको टुंगो लगाएको हो।
तेह्रथुमका खापुङले २०५२ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए। विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी संगठनभित्र इमान्दार, बेदाग र निष्कलङ्ग छविका अधिकृतका रूपमा परिचित छन्।
बेलबारी, दरबारमार्ग, काठमाडौं अपराध अनुसन्धान कार्यालय, कोशी प्रदेश कमान्ड, प्रधानमन्त्री सुरक्षा प्रमुख, युएन मिसन (हाइटी) लगायतका महत्वपूर्ण पदमा जिम्मेवारी सम्हालिसकेका खापुङले इटाली, कोरिया, भियतनाम र चीनबाट सुरक्षा तालिम लिएका छन्।
आगामी कात्तिक २६ गते सेवा अवधि पूरा गर्दै अनिवार्य अवकाशमा जाने खापुङ सम्भवत: प्रहरी इतिहासमै दोस्रो सबैभन्दा छोटो कार्यकाल भएका महानिरीक्षक हुनेछन्। उनको अवकाशपछि एआईजीपी सिद्धिविक्रम शाह, दानबहादुर कार्की र राजन अधिकारी आईजीपी पदका दावेदार हुनेछन्।