काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा अनुगमन गर्दै १९ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ। विभागका अनुसार व्यवसाय दर्ता, बिलबिजक र मूल्यसम्बन्धी आधारभूत प्रमाण पेश गर्न नसक्ने सात फर्मलाई तत्काल १ लाख ३१ हजार रुपैयाँ जरिवाना गरिएको हो। चन्द्रागिरि–११ मा रहेको श्री साई इन्टरप्राइजेजलाई ५१ हजार रुपैयाँ, काठमाडौं–२६ को गुप्ता खुद्रा भण्डार र वडा नं. १६ को बिजी कलेक्सन सेन्टरलाई समान २०–२० हजार रुपैयाँ, संकटा उपभोक्ता सहकारीलाई १५ हजार, तिम्सिना फेन्सी स्टोर र एनएस टेलरलाई १०–१० हजार र एबी फेन्सी कलेक्सन सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
यसैगरी, अन्य १२ वटा प्रतिष्ठानमाथि पनि विभिन्न कारबाही गरिएको छ। तीमध्ये पाँच फर्मलाई तीन दिनभित्र सम्पूर्ण कानुनी कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने सात फर्मलाई देखिएका सामान्य त्रुटि तत्काल सुधार गर्न आदेश गरिएको छ। विभागले उपभोक्ताको हकहित सुनिश्चित गर्न र बजारमा अनुशासन कायम गर्न आगामी दिनमा अनुगमनलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ।