राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि नयाँ लाभांश तथा साधारणसभा कार्यविधि जारी गर्‍यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक साधारणसभा प्रयोजन र लाभांश स्वीकृतिसम्बन्धी नयाँ कार्यविधि, २०८२ जारी गरेको छ। यसअघि लागू भएको कार्यविधिलाई प्रतिस्थापन गर्दै राष्ट्र बैंकले नयाँ प्रावधान ल्याएको हो। नयाँ कार्यविधि अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गर्न र साधारणसभा बोलाउन सक्ने भएका छन्।

गाभ्ने–गाभिने वा प्राप्ति (Acquisition) मा संलग्न संस्थाहरूको चुक्ता पूँजीमा हुने फरक रकम पूँजीगत जगेडा कोषमा राख्नुपर्ने र त्यस्तो रकमबाट नगद लाभांश वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। यस्तै, गाभिने वा प्राप्ति भई बाँकी रहने विभिन्न कोष तथा रकमलाई Merger/Acquisition Reserve मा लेखाङ्कन गर्नुपर्ने र सो रिजर्भबाट पनि लाभांश वितरण गर्न नपाइने जनाइएको छ। तर, Goodwill मा आएको हानी (Impairment Loss) बराबरको रकम भने लाभांशका लागि प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, ऋणपत्र वा भुक्तानी योग्य अग्राधिकार शेयरको भुक्तानी गरेपछि जम्मा भएको रकमलाई Capital Adjustment Fund मा स्थानान्तरण गरी सो कोषबाट बोनस शेयर मात्र वितरण गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।