काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधवार) ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। हाल वित्तीय प्रणालीमा ७२ खर्ब रुपैयाँभन्दा बढी कुल निक्षेप रहेको र अधिक तरलता कायमै रहेकाले राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरी तरलता व्यवस्थापन गर्न लागेको हो।
यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोडदेखि तोकिएको सीमा भित्र रकम प्रस्ताव गर्न सक्नेछन्। बोलकबोलमा निर्धारण हुने ब्याजदरअनुसार सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिई बाँडफाँट गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यस पटक संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८२ असोज ५ गते हुनेछ। अनलाइन खरिद प्रणालीमार्फत हुने यो निक्षेप संकलन, संरचनात्मक खुला बजार कारोबार अन्तर्गत अधिकतम ६ महिनासम्मको अवधिका लागि हुने प्रावधानअनुसार गरिएको हो। नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा दीर्घकालीन तरलता व्यवस्थापनका लागि यस किसिमको उपकरण समय–समयमा प्रयोग गर्दै आएको छ।