अमेरिकाको नयाँ कर नीतिले भारतका प्रमुख उद्योग प्रभावित, रोजगारी संकट बढ्ने

काठमाडौँ ।  अमेरिकाले भारतबाट हुने अधिकांश वस्तु आयातमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूससँग तेल खरिद गरिरहेको आरोप लगाउँदै यस्तो निर्णय गरेका हुन्। यो निर्णयले विशेषगरी छाला, जुत्ता, गार्मेन्ट र हिरा उद्योगलाई ठूलो प्रभाव पार्ने भएको छ। भारत विश्वको ८० प्रतिशतभन्दा बढी हिरा कटिङ तथा पोलिसिङ गर्ने मुलुक भए पनि यसको प्रमुख बजार अमेरिका भएकाले गुजरातका हजारौँ उद्योग बन्द हुने जोखिम बढेको छ।

अर्थशास्त्रीहरूले गार्मेन्ट र छाला उद्योगहरू अझ बढी जोखिममा पर्ने बताएका छन्, किनकि यी क्षेत्रमा साना तथा मझौला उद्यमीहरूको वर्चस्व छ। यसअघि नै कम नाफामा चलिरहेका उद्योगहरूले अमेरिकी महसुलले थप संकट व्यहोर्नुपर्ने अवस्था आएको हो। भारतले निर्यात गर्ने वस्तुहरूमा वैकल्पिक आपूर्तिकर्ता मुलुक (चीन, पाकिस्तान, बाङ्गलादेश, भियतनाम, मेक्सिको) सहजै प्रतिस्पर्धी बन्न सक्ने भएकाले भारतीय उद्योगका लागि चुनौती थपिएको छ। यसले दशौँ लाख भारतीयसँगै ती क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको रोजगारीमा समेत खतरा उत्पन्न गरेको छ।

विशेषज्ञहरूको भनाइमा, अमेरिकी निर्णयको पछाडि रूससँगको तेल व्यापारभन्दा बढी भारत–अमेरिका बीचको व्यापार विवाद छ। अमेरिका आफ्नो कृषि र दुग्धजन्य उत्पादन भारतीय बजारमा शून्य भन्सारमा बेच्न चाहन्छ, तर भारतले किसान, पशुपालक र माछुवाहरूको हितमा सम्झौता गर्न अस्वीकार गरेको छ। यसै कारण दुई देशबीचको व्यापार वार्ता स्थगित भएको हो। तत्कालका लागि अमेरिकी शुल्कका कारण भारतको ५५–६० प्रतिशत निर्यात प्रभावित हुने अनुमान छ, जसले बेरोजगारी अझ बढाउने र भारतीय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गर्ने देखिएको छ।